Menu Close

धनकुटामा पहिरोबाट १२ घरमा क्षति

Share

धनकुटा — अविरल वर्षापछि धनकुटा नगरपालिका ६ फोक्लेन्ड टापुमा पहिरो जाँदा १२ घरमा क्षति पुगेको छ । पहिरोका कारण सिंगो बस्ती नै जोखिममा परेको छ भने ३ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

स्थानीय पदमशेर राई, जोसना राई र विशालहाङ राईको परिवार विस्थापित भएका छन् भने तोर्णदिप तिगेला, सन्तविर लामा, इन्द्रमाया लिम्बू, खड्ग कटुवाल, रितु श्रेष्ठ र शेरबहादुर भण्डारीको घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । उनीहरुका घरको दुवैतर्फबाट पहिरो गएको छ । बिहानको खाना खाने समयमा पहिरो जान थालेपछि त्रास उत्पन्‍न भएको स्थानीय तोर्णबहादुर लिम्बुले बताए । ‘आँखा सामुन्ने सिंगो बस्ती जोखिम हुनेगरी पहिरो गयो’, उनले भने, ‘ज्यान जोगाउनै मुस्किल भयो ।’

कोसी राजमार्गको धरान धनकुटा सडक खण्डबाट एक सय मिटर दुरीको ढलाई गरिएको पक्की सडक समेत क्षतिग्रस्त भएको स्थानीय खड्गबहादुर कटुवालले बताए ।

विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएका छन् । फोक्लेन्ड टापु सिंगो बस्तीलाई स्थानान्तरण गर्न जरुरी रहेको वडाध्यक्ष नरेश श्रेष्ठले बताए । नगरपालिका र स्थानीय प्रशासनसँग सहकार्य गरेर बस्ती स्थानान्तरण गरिने श्रेष्ठको भनाइ छ । उक्त स्थानमा प्रभावित परिवारलाई नेपाल प्रहरी तथा नेपाली सेनाले उद्धार गरेको छ ।

यस्तै धनकुटा नगरपालिका ६ कै खाल्डे गाउँका स्थानीय विरेन्द्र पराजुलीको घरमा क्षति भएको छ । महालक्ष्मी नगरपालिका ५ रामबजारका विजय साहको घर भत्किएको छ । घटनामा ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *