मलाई लाग्छ, नेकपामा अहिलेको तामझामले नै भोलिको परसम्मको निर्णय त गरिहाल्दैन । किनभने हामीले एमालेबाट फुटेर माले बनाउँदा पनि तामझाम सानो थिएन । दुई/तीन महिनासम्म त जम्मै एमाले नै हामीले नै ल्याउँछौं कि जस्तो थियो । पछि फेरि विस्तारै मान्छेहरू फर्किँदै आफ्नै ठाउँमा गए ।
अहिले तलका अलि स्वतन्त्र खालका कार्यकर्ताहरुले ओलीले नै पार्टीलाई विभाजनमा हात बढाए भन्ने कुरो बुझेका छन् । प्रधानमन्त्रीमा बसेर तलमाथि गरेका कुरा, ढाँटढुँटका कुराहरु मान्छेले बुझ्छन् । फेरि, पार्टीलाई मिलाउनुपर्ने दायित्व पनि पहिलो अध्यक्ष र प्रधानमन्त्री भएका नाताले ओलीकै हो । अन्त पनि महत्वाकांक्षा त आए होलान्, आफूमा महत्वाकांक्षा आएपछि अरूमा पनि त आउने नै भयो नि । यसले गर्दा मिलाउन नसकेको अपजस ओलीलाई लाग्छ ।सरकारलाई कामै गर्न दिइएन केहीले भन्लान् । तर दुई तिहाइ बहुमत दिएर पनि शतप्रतिशत काम गर्न त दिँदैनन् कसैले पनि । काम गर्न नदिएको पनि छैन । पार्लियामेन्टमा जान दिएनन् भनौं भने त्यो गतिविधि देखिँदैन । सरकारमा राम्रो काम पनि गरेनन् ।
ओलीको हालत सीपी मैनालीको जस्तै बन्न सक्छ

अब चुनाव भइहाल्यो भने ओलीजीलाई जस्तो लाग्या छ, त्यस्तो हुँदैन । जीरो सीट नै त नजाला, धेरै ठाउँमा जमानत जफत हुन्छ । माधव नेपाल पक्षमा गएर भन्दा पनि मान्छेहरु निराश भएर भोटै हाल्न अर्कातिर जान्छन् । माधव– प्रचण्ड धेरै बलियो हुने, त्यो पनि म देख्दिनँ । नेकपाका दुईवटै पक्षमा मान्छे निराश भएर मत कम्ति हाल्छन् । यसमा पनि ओलीपट्टि अझै कम्ति हुन्छ ।
अलिकति डेडिकेटेड कार्यकर्ता छन् भने पनि भङ्ज्याहा कार्यकर्ता छन् ओलीपट्टि । तल राम्रो स्वाभाव र राम्रो इमेज भएका कार्यकर्ताहरुको संख्या कम छ । बास्कोटाजस्ता, बस्नेतजस्ता मान्छेहरु तल पनि छन् । यी सबै कुराले गर्दा मलाई लाग्छ, पार्टी फुटाउनेको छवि राम्रो हुँदैन ।
चुनाव चिन्ह कसले पाउँछ, त्यसले पनि एउटा प्रभाव पार्छ । सूर्यचिन्ह वास्तवमा लोकप्रिय नै चिन्ह भएको छ । अहिले उदाउँदो सूर्य बनाएका छन्, तर सूर्य चिन्ह र उदाउँदो सूर्यमा मान्छेले केही न केही त बुझ्छन् । यी सबै कुरा हेर्दा मैले दुईटैको स्थिति त्यति राम्रो देख्दिनँ, त्यसमा पनि केपी ओलीको हुँदैन ।
ओलीले भोलि पार्टी बनाए पनि एमाले बनाउँछन् । हामीले पनि हिजो एमालेबाट फुटाएर माले बनायौं । माले त पहिले त सशक्त थियो नि । तर, मालेबाट एमालेमा गइसकेपछि मान्छेहरु ब्याक हुन मानेनन् । तलको कार्यकर्ता ब्याक हुन मानेन । अहिले पनि यिनी नेकपा बनाएर एमालेमा फर्किने भए । तर, आम कार्यकर्ताहरु ब्याक हुन चाहँदैनन्, अगाडि जान चाहन्छन् ।
सुरुमा दुबैले नेकपा र सूर्यचिन्ह दाबी गर्छन् । मलाई लाग्छ, बहुमत भएपछि नेकपा र सूर्यचिन्ह माधव–प्रचण्डले नै पाउँछन् । र, नेकपा एमालेमा चाहिँ ओली जाने भए ।
मैले त के बुझ्छु भने ओलीलाई दक्षिणतिरकाले मज्जाले फसाइदिए । उहाँको आफ्नै बुद्धिले मात्रै यस्तो भएको होइन । पहिले दक्षिणका मित्रहरुले ओलीलाई दप्काएर, हप्काएर ठीक गर्न खोजे । ओली हप्किएनन् । दप्किएनन् । नदप्किएपछि यिनलाई फुर्क्याइदिए । फुर्क्याएर फसाए । पहिले दप्काएर हटाउन खोजे, पछि फुर्क्याएर हटाइदिए ।
जान्ने मान्छेले पार्टीको माया गरेर सरक्क छाडिदिएको भए दोष अरुले बोकेर जाने थिए, ओली दोषी हुँदैनथे । अन्तिममा पनि म पार्टी अध्यक्ष छाडिदिन्छु, अथवा प्रधानमन्त्री छाडिदिन्छु भन्या भए कम्प्रोमाइज त भइहाल्थ्यो । जुनसुकै नेताले पनि पार्टीको विश्वास नजितेपछि त छोड्नैपर्छ । विश्वास लिन सकिएन भने त्यसपछि पनि कन्याएर प्रधानमन्त्रीमा बस्न त पाइँदैन । घुर्क्याएर बस्न त पाइँदैन ।
“
ओलीकै पार्टीमा पनि सीपी मैनालीकै हालत हुन्छ । सीपी ‘ग्रुपिजम’ गर्दागर्दै सिद्धिए । ओलीले पनि ‘ग्रुपिजम’ कहिल्यै छाड्दैनन् । पाँच सय मान्छे भए भने दुई सयलाई समाउँछन्, तीन सय भाग्छन्“
पार्टी अध्यक्ष भनेको पनि बहुमतमै चल्ने हो, प्रधानमन्त्री भनेको पनि बहुमतमै चल्ने हो । झन् जबजवादी भन्नेले त यो कुरा मान्नैपर्ने हो । मलाई बस्न मन छ भनेर ढिपी कसेर मलाई भएन भने डिलमुनि लगेर कुर्सी नै भाँचिदिन्छु भन्ने कुरोले उनकै पक्षमा जाने मान्छेले पनि विस्तारै–विस्तारै छोड्दै जान्छन् । अहिले नै पनि उनको पक्षमा चर्केर बोल्ने मान्छेको संख्या कम भएको छ । कथंकाल अदालतले संसद उल्ट्याइदियो भने त यिनको (ओली) को हविगतै हुन्छ । यो पनि नहोला भन्ने मलाई लाग्दैन ।
जति गरे पनि दक्षिण यिनीसँग सन्तुष्ट छैन । यस्तोबेलामा अदालतले संसद उल्ट्याइदियो भने त यिनी त सिद्धिइहाले नि । चुनावै भइहाल्यो भने पनि नतिजा यिनको पक्षमा हुँदैन । पार्टी एकताको रनक र पार्टी फुटेको सनक त मिल्दैन नि ।
पार्टी निर्माणका लागि केपी ओली कुशल संगठन होइनन् । उनी दाउपेच खेल्न जान्ने, संगठन गर्न नजान्ने मान्छे हुन् । मदन भण्डारी पनि आफैं संगठन होइनन्, विचारक मात्रै थिए । जीवराज आश्रित राम्रा संगठन थिए । सीपी मैनाली नै संगठक होइनन्, विचारक हुन् ।
तत्कालीन माले हुँदाखेरिका संगठक भनेका त प्रदीप नेपाल, ईश्वर पोखरेल, गोपाल शाक्यहरु हुन् । प्रदीप नेपाल राम्रै संगठन हुन्, अहिले बिरामी भए, बूढो पनि भए । वामदेव पनि राम्रै संगठक हुन् । माधव नेपाल पनि व्यवस्थापकीय काम गर्न सक्नेखालका संगठकै हुन् ।
केपी ओली त संगठक हुँदै होइनन् । कुनामा बसेर गफ गर्नेबाहेक अरु छँदैछैन । उनी विचारक भन्दा पनि अलि ठुल्ठुला सपना बाँड्ने टाइपको, अतिरञ्जित कुराहरु गर्ने स्वाभाव चाहिँ उनीमा छ । तर, यिनी संगठक होइनन् । उनले संगठन गरेकै छैन । न झापा आन्दोलनकालमा गरे, न पछि काम गरे । यिनी मान्छेहरुलाई भित्रभित्र पैसा बाँडेर गुट बनाउनचाहिँ जान्ने मान्छे हुन् । तर, गुट बनाउनु र पार्टी बनाउनु फरक कुरा हो । पार्टी भनेको सबैलाई समेट्नुपर्यो , गुटबन्दी भनेको त्यसबाट मन लागेका मान्छेहरु छान्नुपर्यो ।
यो तरिकाले त भोलि ओलीकै पार्टीमा पनि सीपी मैनालीकै हालत हुन्छ । सीपी पछि माले बनाएर त्यहीँ पनि ‘ग्रुपिजम’ गर्दागर्दै टुट्दै टुट्दै सिद्धिए । ओलीले पनि ‘ग्रुपिजम’ कहिल्यै छाड्दैनन् । पाँच सय मान्छे भए भने दुई सयलाई समाउँछन्, तीन सय भाग्छन् । यो हालत छ । त्यसकारण ओलीको त्यति राम्रो पोजिसन होलाजस्तो मलाई लाग्दैन ।
ओलीको अर्को समस्या भनेको उनी धेरै गतिशील हुन सक्दैनन् । उनको स्वास्थ्य एकैदिनमा दुई/चारवटा जिल्ला घुम्नेखालको, अथवा तीन/चारवटा कार्यक्रम गर्नेखालको छैन । अहिले प्रधानमन्त्री हुँदा पनि बालुवाटारबाट सिंहदरबार आउन सकिराखेका छैनन् । त्यसैले उनी बाहिर निस्कनै सक्दैनन् ।
यो स्थितिमा संगठकको भूमिकामा ओलीसँग खासै धेरै नेताहरु छैनन् । सुवास नेम्वाङ संगठकै होइनन् । ईश्वर पोखरेलको क्रेज पनि धेरै घटेको छ । पश्चिमका दुई/चारजना युवाहरु छन् । शंकर पोखरेल अलिअलि संगठक हुन् । तर, विद्यार्थी नेताबाट आएको हुनाले आम कार्यकर्तामा उनको ठूलो पकड छैन । अलि राष्ट्रिय स्तरका प्रचारित नेता ओलीसँग कम्ति छन् । शंकर दाङका निम्ति अलि उपयोगी होलान् । प्रदीप ज्ञवाली पनि आफ्नो जिल्लामा त प्रचारित छन् । तर, राष्ट्रियस्तरकै छवि बनिसकेको छैन । विष्णु पौडेल महासचिव भए पनि पद हुँदैमा राष्ट्रिय व्यक्तित्व भइँदैन । उनी रुपन्देहीका नेता त हुन्, तर राष्ट्रिय व्यक्तित्व बनेको छैन र उनको छवि पनि बिग्रिएको छ । त्यसैले ओलीको टिम कमजोर छ, राष्ट्रिय स्तरको टिम छैन ।
वामदेव गौतम ओलीतिर आए भने एकजना राष्ट्रिय स्तरका नेता त होलान् । तर, वामदेवसँगै ओली समूहमा समस्या पनि आउँछ । वामदेवले आफ्नै मागहरु तेस्र्याउन थाल्छन् ।
ओलीजीसँग देशभरि भञ्ज्याहा र बदनाम टाइपका मान्छेहरु अलि धेरै छन् । अहिले ईश्वर पोखरेल पनि बदनाम भए । भानुभक्त ढकाल पनि बदनाम भए । बास्कोटा पनि बदनाम । बदनामै बदनामको सिँढीजस्तो हुने भो । अहिलेसम्म बदनाम नभएका शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङहरु हुन् । अरुचाहिँ जम्मै उचालेर ओलीलाई माथि लगेर पद लिने खालका छन् । ओलीलाई उचाल्ने अनि आफ्नो पोजिसन बनाउने टाइपका ।
केपी ओलीसँग त कार्यकर्तै कम्ति छन् । भएका पनि सादगी कार्यकर्ताहरु कम छन् । अलि सादगी युवाहरु माधव नेपालतिर बढी भए, ओलीपट्टि अलि उद्दण्ड टाइपकाहरु बढी भए ।
Share