अभिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ।
कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न सुरु भएको `रजतपट कोशेली अभियान´ ले पल शाहलाई सम्मान गरेको हो। कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोही सामाजिक कामका लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश सुबेदीले जानकारी दिए। सोमबार काठमाडौमा आयोजित सहयोग कार्यक्रममा दिइएको उक्त सम्मान लिन भने पल अनुपस्थित थिए। उनी राहत कै लागि काठमाडौ बाहिर रहेका कारण सम्मान लिन उनी नआएका सुबेदीले बताए।
उनको सम्मानपत्र अभिनेता भुवन के.सीले पढेर सुनाएका थिए। सोही कार्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ। यो सहयोग नेपाल त नेपाल बाहिर रहेका कलाकर्मीहरुको पहलमा जुटेको थियो। निशालाई निशुल्क उपचारको प्रबन्ध मिलाएकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ। मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले वुझेका थिए। दाहालले नै निशाको अवस्था मेघासम्म पुर्याइ उपचारका लागि पहल गरेका थिए। टेलिभिजन कार्यक्रम `रजतपट´ को सहयोग अभियानले हालसम्म ४ सय बढी कलाकर्मीहरु तथा अन्य पिडितलाई राहत उपलब्ध गराइ सकेको छ। सोमबार पनि १८ जना कलाकर्मीहरुलाई सहयोग गरिएको थियो।
Share