काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ।
संवैधानिक इजलासमा आज सापकोटाको मुद्दाको पेसी तोकिएको थियो। तर आज उक्त मुद्दाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ। यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो।
सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेल लगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेसीमा चढेको थियो। २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो।
संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन वटा मुद्दा रहेका छन्। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन छ।
तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व-सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ’हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकिर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए। यो सापकोटाविरुद्धको पहिलो अवहेलना मुद्दा थियो। लगत्तै पूर्णिमायाले रिट निवेदन दायर गरेकी थिइन्।
Share